काठमाडौं । यो वर्ष अर्थशास्त्रतर्फ क्लाउडिया गोल्डिनलाई श्रमबजारमा महिलाले पुर्याएको योगदानबारे विशिष्ट अध्ययन गरेकाले नोबेल पुरस्कार प्रदान गरिने भएको छ । उनी हार्भर्ड विश्वविद्यालयमा प्राध्यापन गर्छिन्। गोल्डिनले महिलाको कमाइ र सयौँ वर्षदेखि श्रमबजारमा महिलाको सहभागिताबारे अनुसन्धान गरेकी छन्। नोबेल पुरस्कार समितिका अनुसार उनको अनुसन्धानले परिवर्तनका कारणहरू तथा लैङ्गिक असमानताको मुख्य स्रोत पत्ता लगाएको छ।
गोल्डिन आफूले सधैँ गुप्तचर बन्ने चाहेको र अन्ततः सफल भएकोू बताएकी छन्। अर्थशास्त्रतर्फ नोबेल पुरस्कार पाउने उनी तेस्री महिला हुन् भने कुनै पुरुष सहकर्मीसँग संयुक्त रूपमा नभई एक्लै पुरस्कार हात पार्ने प्रथम महिला हुन्। उनी अहिले ७७ वर्षकी भइन्। अहिले पनि उनी श्रमबजारको इतिहास पढाउँछिन्।
यसअघि नोबेल पुरस्कार समितिले चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तितर्फका विजेताको नाम घोषणा गरिसकेको छ। अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा भएपछि यो वर्ष सबै विधातर्फ नोबेल पुरस्कार घोषणा गर्ने क्रम टुङ्गिएको छ। सन् १९६९ देखि सन् २०२२ सम्म ५४ वर्षमा ९२ जनालाई एकल वा संयुक्त रूपमा नोबेल पुरस्कार दिइएको थियो। यो वर्षका विजेताहरूलाई आगामी डिसेम्बर १० मा पुरस्कार वितरण गरिने छ।
विभिन्न विधाका पुरस्कारका लागि शोध संस्थानका सदस्यहरू, विश्वविद्यालयका प्राध्यापकहरू, वैज्ञानिकहरू, पूर्वविजेताहरू र अन्यले मनोनयन गर्छन्। नोबेल फाउन्डेशनको नियमानुसार ५० वर्षसम्म अन्तिम छनोट सूची प्रकाशित गरिँदैन। कसैले आफैँलाई मनोनयन गर्न पाउँदैन।