अष्ट्रिया यूरोपमै खोप कार्ड अनिवार्य गर्ने पहिलो मुलुक बन्यो

भियना । अस्ट्रिया यूरोप महादेशमै खोप कार्ड अनिवार्य गर्ने पहिलो मुलुक बनेको छ । त्यहाँको सरकारले ल्याएको अनिवार्य खोप लगाउनुपर्ने प्रस्तावलाई त्यहाँको तल्लो सदनले पारित गरेपछि उक्त युरोपेली देश ईयुकै त्यस्तो व्यवस्था गर्ने पहिलो राष्ट्र बनेको हो । बीबीसीका अनुसार यहाँ अहिलेसम्म ७२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । अस्ट्रियामा नयाँ नियम फ्रेबुअरी १ देखि कार्यान्वयनमा आउनेछ। त्यस्तो विधयेक कानुन बन्न माथिल्लो सदनबाट पारित भएपछि राष्ट्रपतिबाट अनुमोदन हुनुपर्छ ।

नयाँ कानुनका अनुसार मध्य मार्चबाट कोभिडविरूद्ध खोप नलगाउनेहरूले ३ हजार ६ सय युरोसम्म जरिबाना तिर्नुपर्ने हुन्छ। खोपसम्बन्धी त्यस्तो आदेश सन् २०२४ को जनवरीसम्म लागु हुनेछ। सरकारले खोप नलगाएका मानिसहरू त्यसका लागि अगाडि आऊन् भनेर प्रोत्साहन गर्नका लागि १.४ अर्ब युरो लगानीको घोषणा समेत गर्दैछ ।

उक्त प्रस्तावलाई तल्लो सदनमा १३७ जनाले पारित गरेका थिए। विपक्षमा ३३ सांसद छन् । उग्र दक्षिणपन्थी फ्रिडम पार्टी अस्ट्रियामा खोपविरोधी अल्पसङ्ख्यक खेमामा नेतृत्व गरिरहेको छ । अधिकारीहरूले अनिवार्य खोपको उपाय ल्याउने बताएदेखि नै भियनामा त्यसविरूद्ध प्रदर्शन हुन थालेका थिए।