अष्ट्रेलियाबाट देश निकालामा परे विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच

मेलबर्न । विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकालामा परेका छन् । सरकारले उनको भिसा रद्द गरेको थियो ।उक्त निर्णयलाई सङ्घीय अदालतले सदर गरेपछि आइतवार उनी मेलबर्नबाट देश निकालामा परेका हुन् । उनी आइतबार नै दुबईको उडानबाट बाहिरिएको बीबीसीले जनाएको छ । अस्ट्रेलियाको सङ्घीय अदालतले ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचले भिसा रद्द गर्ने सरकारको निर्णयलाई कानुनसम्मत भनेको हो ।

अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने निर्णय दिएका हुन्। यो निर्णयसँगै जोकोभिचले गत वर्ष जितेको अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन्। अदालतको निर्णयपछि जोकोभिचले आफू निराश भएको भए पनि निर्णयलाई सम्मान गर्ने बताएका छन्। शुक्रवार अस्ट्रेलियाका आप्रवासन मन्त्री एलेक्स हकले जोकोभिचको उपस्थितिले अस्ट्रेलियाली समुदायमा स्वास्थ्यसम्बन्धी जोखिम रहने भन्दै दोस्रो पटक भिसा रद्द गरेका थिए। अस्ट्रेलिया प्रवेश गर्न विदेशी नागरिकका लागि कोभिड खोप अनिवार्य गरिएको भए पनि जोकोभिचले खोप लगाएका छैनन्।