सिड्नी\एजेन्सी । अस्ट्रेलियामा कोभिड महामारीका बेला अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिएको पूर्णकालीन काम गर्न सक्ने अधिकार घटेको छ । यससँगै अब काम गर्न पाउने समय कम हुने भएको छ । जसका कारण त्यहाँ रहेका हजारौं नेपाली समेत प्रभावित हुनेछन् । गृह मन्त्रालयले आगामी आर्थिक वर्षबाट अन्तर्राष्ट्रिय विद्यार्थीलाई तोकिएको समयसम्म मात्र काम गर्न दिने भनेको छ । अस्ट्रेलियामा अध्ययन गर्न जानेले दुई सातामा ४० घण्टा काम गर्न पाउने छन् ।
कोरोना कालमा कामदार अभाव भएका समयमा अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको काम गर्ने पाउने सीमा हटाएको हो । गृह मन्त्रालयको अध्यागमन तथा नागरिकता विभागले एक सार्वजनिक सूचना जारी गर्दै कोरोना समयमा दिएको उक्त अधिकार आगामी सन् २०२३ जुन ३० पछि बन्द गरिने बताएका छन् । मन्त्रालयले विद्यार्थीलाई विद्यार्थी भिसाका सबै नियमलाई पालना गर्न भनेको छ ।
शिक्षण संस्थामा सन्तोषजनक अध्ययनको प्रगति, कक्षा उपस्थिति हुनुपर्ने भएको छ । सरकारले विशेष क्षेत्रमा रहेको कामदार अभाव पूर्ति गर्न उच्च शिक्षा अध्ययन गरिसकेपछि दिइने ‘पोस्टस्टडी वर्क राइट्स’को समयसीमा गरिएको फेरबदललाई भने कायमै राखिएको छ ।