काठमाडौं । अष्ट्रेलियाले यो वर्ष (सन् २०२१) भर विदेशी पर्यटकलाई भ्रमण अनुमति नदिने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार बताएअनुसार कुशल आप्रवासी र विद्यार्थीलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । अष्ट्रेलियाले अहिलेसम्म १६ वर्षमाथिका ८० प्रतिशत जनतालाई कोभिडविरुद्धको दोस्रो मात्राको खोप लगाइएको छ । गत हप्ता प्रधानमन्त्री मोरिसनले खोप लगाएका नागरिक र स्थायी बासिन्दालाई पहिलो पटक नोभेम्बरबाट विदेश उडान गर्न अनुमति दिने योजना सार्वजनिक गरेका थिए ।
गत वर्ष मार्चमा लिइएको सीमा प्रतिबन्धको निर्णयपछिको यो सीमा खुकुलो बनाउने पहिलो र महत्त्वपूर्ण निर्णय थियो। यसै बीच प्रधानमन्त्री मोरिसनले मङ्गलबार अष्ट्रेलियालीहरू पछि स्वदेश प्रवेशको अबको प्राथमिकता बाह्य पर्यटकहरू भन्दा कुशल आप्रवासीहरू र अन्तर्राष्ट्रिय विद्यार्थीहरू हुने बताएका हुन् । अन्य देशबाट अष्ट्रेलिया प्रवेश गर्नेहरूको सङ्ख्या दोस्रो विश्वयुद्धपछि सबैभन्दा कम भएको हो ।
यसमा कोभिड महामारी र यसबाट सृजित प्रतिबन्धका कारण भएको हो । कोभिड महामारीले अष्ट्रेलियाली विश्वविद्यालयमा अत्यन्तै नकारात्मक असर पारेको छ। यहाँका प्रायः विश्वविद्यालय विदेशी विद्यार्थीले तिर्ने शुल्कमा निर्भर छन् । जारी सीमा प्रतिबन्ध निरन्तर रहदाँ अन्तर्राष्ट्रिय विद्यार्थी अन्य मुलुकमा जानसक्ने डरले यहाँका विश्वविद्यालयहरू चिन्तित देखिन्छन् ।