अस्तव्यस्त काबुल, उद्धार माग्दै उडिरहेको जहाजमा झुण्डेका तीन जनाको मृत्यु

काबुल । आइतबार अफगानिस्तानको राजधानी काबुललाई तालिबानले नियन्त्रणमा लिएपछि काबुलमा त्राहीमाम फैलिएको छ । मानिसहरु आत्तिएको र उनीहरुले त्यहाँबाट मुक्ति चाहिरहेको संचारमाध्यमहरुले रिर्पोटिंग गरिरहेका छन् । सोमबार हामिद कारजाई विमानस्थलमा अत्यधिक भिड देखिएको छ । यो विमानस्थल अहिले अमेरिकाको नियन्त्रणमा छ ।

भिड धेरै भएपछि सेनाले यहाँ गोली चलाएको छ । सो क्रममा तीन जनाको मृत्यु भएको छ । केही मानिस उडिरहेको जहाजमा झुण्डिएका थिए । त्यसक्रममा जहाजबाट खसेर समेत तीन जनाको मृत्यु भएको छ । मानिस जहाजबाट खसिरहेको दृष्यलाई पश्चिमी संचारमाध्यमहरुले महत्वका साथ प्रसारण गरिरहेका छन् । यसरी बाहिरिन चाहनेमा त्यहाँ रहेका विदेशी नागरिक र अफगानी नागरिक समेत छन् ।

अमेरिकी सेनाले विमानस्थलमा सबै व्यवसायिक उडान बन्द गरिदिएको छ । अहिले यहाँ सैन्य उडान मात्र जारी छन् । सामाजिक सञ्जालमा शेयर गरिएको अर्को भिडियोमा मानिसहरु विमानमा चढ्नको लागि तँछाडमछाड गरिरहेको देखिएको छ । तालिबानका प्रवक्ताले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताए पनि मानिसहरु आत्तिएका छन् ।