आइतबारबाट अन्तर्राष्ट्रिय उडान संख्या दोब्बर हुने

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान संख्या थप गरि दोब्बर पारेको छ । यसअघि उडान खुला गरेका गन्तब्यमा सिंगापुरमा सातामा एक उडान हुने गरि थप भएको छ । भारतमा भने साविककै सातामा दुई उडान कायम छ । यसबाहेकका मुलुकमा हुने उडान संख्या भने थप भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाई छ ।

अब सातामा कुल ५३ वटा उडान हुने छन् । यसअघि सातामा दुई दर्जन मात्र उडान गर्ने गरी तालिका तोकिएको थियो । नयाँ तालीका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा नेपाल एयरलाइन्स (बुधबार) र एयर इण्डिया (सोमबार) उड्नेछन् । यूएईको दुबईमा नेपाल एयरलाइन्सले मंगलबार र बिहीबार, हिमालय एयरलाइन्सले आइतबार, मंगलबार र बिहीबार तथा फ्लाइ दुबइले आइतबार, बुधबार र शुक्रबार एक, एक उडान गर्नेछन् ।

कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन एक, एक उडान गर्नेछन् । दोहामा हिमालय एयरलाइन्स सोमबार, बुधबार र शनिबार जाने छ । साउदी अरेबियाको दमाममा हिमालय एयरलाइन्सले आइतबार, सोमबार, बुधबार र शुक्रबार गरि साताको चार उडानको अनुमति पाएको छ । मलेसियाको क्वालालाम्पुरमा नेपाल एयरलाइन्सले बुधबार र शनिबार गरि सातामा दुई उडान गर्नेछ। हिमालय एयरलाइन्सले बिहीबार, शुक्रबार र शनिबार क्वालालाम्पुर उडानको अनुमति पाएको छ ।

टर्किस एयरलाइन्सले टर्कीको इस्तानवुलमा सोमबार, बिहीबार र शनिबार जहाज उडाउने छ । जजिरा एयरवेजले कुवेतमा सोमबार, मंगलबार, बुधबार, बिहीबार र शनिबार गरि कुल पाँच उडानको अनुमति पाएको छ । सलाम एयरले ओमानको मस्कटमा सोमबार, बुधबार र शनिबार गरी कुल तीन उडान गर्ने गरि अनुमति पाएको तालीकामा उल्लेख छ । एयर अरेबियाले आबुधाबीमा आइतबार र मंगलबारको उडान तालिका पाएको छ । सिल्क एयरको जहाज हरेक आइतबार काठमाडौं आउने छ ।