आइपिएल अक्सनको फाइनल लिस्टमा परे सन्दीप, न्यूनतम मूल्य ४० लाख भारु

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा नेपाली चर्चित लेग स्पीनर सन्दीप लामिछाने अन्तिम सूचिमा अटाउन सफल भएका छन् । नेपालबाट अक्सनका लागि ८ खेलाडीले नाम टिपाएका थिए । त्यसमध्ये सन्दीप मात्र अन्तिम सूचिमा परेका हुन् ।

१४औं संस्करणको आइपीएलका लागि १८ फेब्रुअरीमा अक्सन हुनेछ । जसमा बिक्रि हुन सफल भएमा सन्दीपले न्यूनतम ४० लाख भारु पाउने छन् । लिलाम बढाबढमा गएमा भने उनको मूल्य अझ बढ्न सक्नेछ ।

यद्दपी कुन टीम उनीप्रति सकारात्मक हुनेछ, त्यो भने निश्चित छैन । यसअघि उनले तीन सिजन दिल्ली क्यापिटल्सबाट खेले । जसमध्ये दिल्लीले दुई सिजनमा मात्र उनलाई खेलाएको थियो ।

यस पटक अक्सनमा किंग्स एलेभेन पञ्जावसँग सबैभन्दा धेरै ५३.२ करोड भारु खर्च गर्न सक्ने रकम छ । पञ्जावले ९ जना सम्म खेलाडी किन्न सक्नेछ । रोएल च्यालेन्जर्स बैंगलोरले १३ खेलाडी किन्न सक्ने अवसर छ । उसले ३५.९ करोड ब्यालेन्समा खेलाडी किन्नेछ ।