दुवई । जारी इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । आइतबार सनराइजर्स हैदराबादलाई ३४ रनले हराउँदै मुम्बईले चौथो जित हात पारेको छ । मुम्बईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबाद २० ओभरमा सात विकेट गुमाउँदा १ सय ७४ रनमा रोकियो ।
हैदरावादको लागि कप्तान डेभिड वार्नरले ६० रन बनाए । मुम्बईका टे्रन्ट बोल्ट, जेम्स प्याटिन्सन र जसप्रित बुमराहले समान दुई÷दुई विकेट झारे । यूएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा पाँच विकेट गुमाएर २ सय ८ रनको विशाल योगफल बनाएको थियो ।
मुम्बईका क्विन्टन डी ककले ६७ रन जोडे । मुम्बई ६ अङ्कका साथ मुम्बई शीर्ष स्थानमा आएको हो ।
उता, आइतबार राती नै सम्पन्न अर्को खेलमा चेन्नई सुपर किङ्सले किङ्स इलाभेन पन्जाबविरुद्ध रवाफिलो जित निकालेको हो । यूएईमा राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई चेन्नईले १० विकेटले हरायो । यो उसको दोस्रो जित हो ।
यूएई क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा कुनै पनि विकेट नगुमाई फेला पारेको हो । चेन्नईको जितमा फाप डु प्लेसिस र शेन वाट्सनले पुरै साझेदारी गरेका हुन् ।
पहिलो विकेटका लागि प्लेसिस र वाट्सनले अविजित १ सय ८१ रन जोडे । प्लेसिस ५३ बलमा ११ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहे । वाट्सनले ५३ बलमा ११ चौका र ३ छक्कासहित अविजित ८३ रन बनाए ।