काठमाडौं । नेपाली खेलाडीले अवसर पाए भने उत्कृष्ट प्रदर्शन गर्न सक्छन् भन्ने उदाहरण बनेका छन् किरण चेम्जोङ । उनी नेपाली राष्ट्रिय टोलीका गोलरक्षक तथा कप्तान समेत हुन् । यतिबेला उनले भारतको एक डिभिजन लिग आइलिगमा व्यवसायिक फुटबल खेलिरहेका छन् । त्यहाँ उनले जारी लिगमा आफुलाई उत्कष्ट सावित गरेका छन् ।
पञ्जाव एफसीबाट आइलिग खेलिरहेका उनले सोमबारसम्म कुल १० खेलमा भाग लिए । जसमध्ये ६ खेलमा एक गोल पनि नखाई क्लिनसीट राख्न सके । उनको प्रशंसा गर्दै क्लवले एक विश्वस्तरीय गोलकिपरको उपमा दिएको छ । पञ्जावले सोमबार नेरोका एफसीलाई हराउँदा किरण हिरो अफ दी म्याच बने । उनको टोली अहिले लिगको दोस्रो स्थानमा छ ।
सोमबार साँझ बंंगालको कल्याणी स्टेडियममा भएको खेलमा पञ्जावले नेरोका एफसीलाई १–० ले पराजित गरेको हो । पञ्जावको जितमा पापा बाबाकार डायबाराले खेलको ६५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । नेरोकाबाट अर्का नेपाली खेलाडी प्रकाश बुढाथोकीले समेत खेले । उनी खेलको ६० औं मिनेटमा खैमिथांह्याङ ल्हुगंडिमको स्थानमा मैदान प्रवेश गरेका हुन् । पंजावले किरणलाई अधिकांश खेलमा कप्तानको जिम्मेवारी दिएको छ । उनले त्यस जिम्मेवारीलाई सफलतापूर्वक पुरा गरिरहेका छन् ।