काठमाडौं । आइसिसी विश्वकप लिग २ मा नेपाल र ओमन भिडिरहेका छन् । नेपालले टस हारेको छ । ओमानले ब्याटिङ रोजेपछि नेपाल बलिङमा उत्रिएको छ । खेल अमेरिकाको टेक्सासस्थित पर्लल्यान्डको मोसा रंगशालामा जारी छ । नेपाली टिममा आज सुनील धमलाले डेब्यू गरेका छन्। सन्दीप लामिछानेले कप्तानी गरिरहेका छन् । घरेलु टिम अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आफ्नो पहिलो खेल खेल्दैछ । हिजोदेखि सुरू भएको सिरिजमा घरेलु टिम अमेरिकाले विजयी सुरुवात गरिसकेको छ। अमेरिकाले ओमानमाथि ११४ रनको फराकिलो अन्तरको जित निकालेको थियो।
जारी लिग २ मा १२ खेलबाट १२ अंक जोडेको नेपाल अंक तालिकामा छैठौं स्थानमा छ। शीर्ष स्थानको ओमानको ३३ खेलबाट ४० अंक छ भने दोस्रो स्थानको स्कटल्यान्डको २० खेलबाट २८ अंक छ। तेस्रो स्थानको युएईको २२ खेलबाट २६ अंक छ। यस्तै अमेरिकाले २१ खेलबाट २० अंक जोड्दै चौथो स्थानमा रहँदा नामिबिया १४ खेलबाट १४ अंक जोडेर पाँचौ स्थानमा छ। नेपालभन्दा पछि रहेको सातौं स्थानको पपुवा न्युगिनीले २० खेलबाट २ अंक मात्र जोडेको छ। लिग २ मा नेपालले सबैभन्दा कम खेल खेको छ ।