काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालको सानदार प्रदर्शन जारी छ । सोमबार नेपालले लगातार पाँचौं जित निकाल्ने क्रममा पपुवा न्युगिनीलाई सहजै हरायो । खेल नेपालले ४ विकेटले जितेको हो । यसअघि घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासहितको शृंखलामा नेपालले सबै चार खेल जितेको थियो । जितपछि नेपालले २९ खेलबाट २८ अंक जोडेको छ । छैटौं स्थानमा रहेको नेपाल पाँचौं स्थानको युएई भन्दा १ अंकले पछि छ । नेपालले अब शृंखलामा दोस्रो खेल बिहीबार युएईसँग खेल्दैछ ।
पपुवा न्युगिनीसँगके खेलमा ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि दुबईमा २०४ रनको लक्ष्य नेपालले ४५.२ ओभर खेल्दै ६ विकेट गुमाएर २०७ रन बनाउँदै पूरा गर्यो । कुशल भुर्तेलले ६९ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५६ रन बनाए । पीएनजीका लागि कप्तान असद भालाले ३ तथा नर्मन भानुअ र सेसे बाउले १–१ विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रन बनाएको थियो । पीएनजीका लागि चाड सपर र कप्तान असद भालाले सर्वाधिक ३६–३६ रन बनाए । नेपालका लागि गुल्शन झाले सर्वाधिक ३ विकेट लिए ।