आईसीसी क्रिकेट विश्वकप लिग टु : ओमानमाथि नेपालको उत्कृष्ट प्रदर्शन

काठमाडौं । अमेरिकामा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु श्रृंखलामा तेस्रो खेलमा नेपालले ओमानमाथि ७ विकेटको सानदार जित निकालेको छ । आसिफ शेख र कुशल भुर्तेलले ओपनिङमा कीर्तिमानी साझेदारी गरेका छन् । ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । लिग टुमा सातौं जित निकालेको नेपाल १५ खेलबाट १५ अंक जोडेर पाँचौ स्थानमा उक्लिन सफल भयो । अब नेपालले श्रृंखलाको अन्तिम खेलमा आज अमेरिकासँग खेल्नेछ । पहिलो खेलमा यी दुई टीमले अंक बाँडेका थिए ।

आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ११४ रनको शतकीय साझेदारी गरे । नेपालले ओपनिङका लागि एकदिवसियमा गरेको यो नै ठूलो साझेदारी हो । यसअघि आसिफ र कुशलले नै गत वर्ष ओमानमा अमेरिका विरुद्ध पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । अमेरिका भ्रमणमा नेपालले पहिलो जित निकाल्दा आसिफले ८६ बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा ६२ रन बनाए । यस्तै कुशलले ७५ बल खेल्दै ५ चौका मद्दतमा ५६ रन जोडे । देव खनाल १० रन बनाए । रोहित पौडेलले अविजित २६ रन जोडे ।

ओमानका फयज बटले २ तथा खावर अलीले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४६.१ ओभरमा सबै विकेट गुमाएर १६३ रनमा अलआउट भयो । ओमानका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ५२ रन बनाए । सन्दिप गौडले ४७ रन बनाए । नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।