काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भएको श्रृङ्खलाको अन्तिम खेलमा नेपाललाई आयोजक अमेरिकाले ३९ रनले हराएको छ । आरिफ शेख र सोमपाल कामीले कीर्तिमानी साझेदारी गरेपनि अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछ्याएको नेपालले २०६ रन मात्र बनायो । श्रृङ्खलामा नेपालको यो दोस्रो हार हो । चार खेल मध्ये एक जित र एक बराबरीबाट नेपालले ३ अंक मात्र जोड्न सक्यो । अंकतालिकामा १६ खेलबाट १५ अंकसहित नेपाल पाँचौ स्थानमा छ ।
अमेरिका २४ खेलबाट २३ अंकसहित चौथो स्थानमा छ । आरिफ र सोमपालले छैटौं विकेटका लागि १०६ रनको साझेदारी गरेपनि नेपाललाई जितसम्म पुर्याउन सकेनन् । नेपाललाई अन्तिम ५ ओभरमा ५० रन भन्दा कम चाहिएको अवस्थामा दुव खेलाडी ४५औं ओभरमा आउट भएका थिए । ९३ रनमै ५ विकेट गुमेको अवस्थामा आरिफ र सोमपालले कीर्तिमानी शतकिय साझेदारी गरेका थिए । छैटौं विकेटका लागि नेपालको यो अहिलेसम्मको ठूलो साझेदारी हो ।
यसअघि छैटौं विकेटका लागि २०२० मा कुशल मल्ल र विनोद भण्डारीले अमेरिका विरुद्ध नै ८४ रनको साजेदारी गरेका थिए । नेपालका लागि आरिफले सर्वाधिक ६३ रन बनाए भने सोमपालले ४७ रन जोडे । यसबाहेक देव खनालले ३४, आसिफ शेखले १८, रोहित पौडेलले १६ र कुशल भुर्तेलले १० रन बनाए । त्यसअघि मोसा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४५ रन बनाएको थियो ।
अमेरिकाका लागि गजानन्द सिंहले सर्वाधिक ५८ रन बनाउँदा सुशान्त मोदानीले ५४ रन बनाए । यस्तै आरोन जोन्सले ४३ र साइतेजा मुम्मकामालाले ३६ रन जोडे । नेपालका करण केसीले ३, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिएका थिए ।