आईसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपाल र नामिबिया भिड्दै

काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु मा आज नेपाल र नामिबिया भिड्दैछन् । जारी सिरिजमा यी दुई टीम दोस्रो प्रतिस्पर्धामा छन् । पहिलो खेलमा नामिवियाले नेपाललाई हराएको थियो । सोहीकारण आज नेपाल सो हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ । त्रिकोणात्मक शृंखलाको पहिलो खेलमै नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । तर दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोली स्कटल्याण्डमाथि ५ विकेटको ऐतिहासिक जित निकालेको हो ।


लिग टु मा शीर्ष तीनमा रहँदै ग्लोबल छनोटमा पुग्न नेपाललाई यस शृखंलाका बाँकी दुई खेल महत्वपूर्ण हुनेछ । हाल नेपाल १८ खेलबाट १७ अंकसहित पाँचौ स्थानमा छ । नेपालले लिग टु मा आधा खेल खेलिसकेको छ । नामिबिया १७ खेलबाट १६ अंकसहित छैटौं स्थानमा छ र नेपाललाई पछ्याइरहेको छ । अघिल्लो खेलमा नेपाललाई हराएर नामिबिया पाँचौ स्थानमा उक्लेको थियो तर स्कटल्याण्डलाई हराएपछि नेपाल पाँचौ स्थानमै उक्लेको हो । अब बाँकी दुई खेल जित्न सके नेपालले चौथो स्थानको अमेरिकासँग अंकदूरी कम पार्नेछ । अमेरिका २४ खेलबाट २३ अंक जोडेर चौथो स्थानमा रहेको छ ।