आईसीसी क्रिकेट विश्वकप लिग–२ : आज नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ । घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिम त्यही लय कायम राख्ने योजनामा छ । नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २ विकेटले हराएको थियो । ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका थिए भने करण केसीले ५ विकेट लिएका थिए ।
त्यसपछि स्कटल्याण्डले पनि नामिबियालाई सहजै हराएर तीन खेल अगावै लिग २ मा शीर्ष स्थान पक्का गरिसकेको छ ।

जर्ज मुन्सीको शानदार शतकमा स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको थियो । शीर्ष पाँच स्थानमा रहँदै ओडिआई मान्यतालाई जोगाउने अभियानमा रहेको नेपालले घरेलु मैदानमा भइरहेको श्रृंखलामा सकेसम्म धेरै खेल जित्ने लक्ष्य बनाएको छ ।
पछिल्ला दुई श्रृंखलामा ८ खेल खेल्दा नेपालले जम्मा १ खेल जितेको थियो । त्यो जित स्कटल्याण्ड विरुद्ध नै गत जुलाईमा थियो । त्यसपछि नामिबियामा गत डिसेम्बरमा खेलेको श्रृंखलामा नेपालले कुनै खेल जित्न सकेन । यस पटक घरेलु मैदान र दर्शकको साथ पाएको नेपालले श्रृंखलाको पहिलो खेलमै नामिबियालाई हरायो । ओडिआई मान्यता पाएपछि नेपालले नामिबियालाई हराएको पनि यो पटक हो ।

अब स्कटल्याण्ड विरुद्ध नेपालको असली परिक्षा हुनेछ । लिग–२ को अन्तिम श्रृंखला खेलिरहेको स्कटल्याण्डको ३३ खेलबाट ४८ अंक छ । २५ खेलबाट २० अंक जोडेको नेपाल छैटौं स्थानमा छ । लिग–२ को शीर्ष स्थानमा रहेर आगामी जुन–जुलाईमा जिम्बावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरमा स्थान पक्का गरिसकेको स्कटल्याण्डका लागि अबका खेलमा कुनै दबाब हुने छैन ।

नेपालले यसअघि स्कटल्याण्ड विरुद्ध खेलेको पहिलो ओडिआई खेल नै जितेको थियो । तर त्यसपछिका लगातार तीन खेलमा नेपाल पराजित भएको छ । समग्रमा स्कटल्याण्ड विरुद्ध नेपालले चार ओडिआई खेल्दा एक खेल मात्र जितेको छ भने तीन खेलमा स्कटल्याण्ड विजयी भएको छ । गत जुलाईमा लिग टु अन्तर्गत स्कटल्याण्डमै भएको श्रृंखलाको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।

त्यही श्रृंखलाको अर्को खेलमा नेपाल स्कटल्याण्डसँग सहजै ८ विकेटले पराजित भयो । डिसेम्बरमा नामिबियामा भएको लिग–२ श्रृंखलाको पहिलो खेलमा नेपालले टक्कर दिएपनि स्कटल्याण्डसँग ३ विकेटले पराजित हुँदा दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो । जारी श्रृंखलामा नेपाल र स्कटल्याण्डबीचकै दोस्रो खेल शनिबार हुनेछ ।