आगजनी गरिएको भाटभटेनीको भवन भत्काउँदा दुई मजदुर गम्भीर घाइते

२३ कात्तिक, काठमाडौं । नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, हेटौंडा उपमहानगरपालिका–१ का ३३ वर्षीय राजकुमार स्याङ्तान र २५ वर्षीय दीपक तामाङ गम्भीर घाइते भएका हुन् । घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

जेनजी आन्दोलनका क्रममा आगजनी भएको उक्त भवन मर्मत तथा सरसफाइका लागि भत्काउन थालिएको थियो । आगलागीले क्षतिग्रस्त भवन भत्किन थालेपछि भग्नावशेषहरू हटाउन थालिएको थियो । सो क्रममा आज दुई जना गम्भीर घाइते भएका हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका भाटभटेनी भवनमा पनि तोडफोड र आगजनी गरिएका थिए ।