पोखरा । दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक कर्णाली प्रदेश हुने भएको छ । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार पोखराको होटल बाराहीमा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौंको मिति र स्थान तय गरेको हो । दशौं राष्ट्रिय खेलकुद २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना हुने निर्णय भएको हो । महिना भने तय हुन बाँकी छ ।
बैठकमा एघारौं राष्ट्रिय प्रतियोगिताका लागि समेत विभिन्न प्रदेशले माग राखेका थिए । मधेश प्रदेशले एघारौं संस्करण आयोजना गर्नका लागि अहिल्यै प्रस्ताव गरेको छ । सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश लगायतले पनि एघारौं राष्ट्रिय खेलकुद आयोजनाका लागि दाबी राखेका छन् । बिहीबार पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुद समापनका अवसरमा दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि झण्डा हस्तान्तरण गरिँदैछ ।