काठमाडौं । काठमाडौंमा आजबाट घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने नियम कार्याैन्वयनमा आएको छ । स्रोतमै कुहिने र नकुहिने फोहोर नछुट्याए फोहोर संकलन नगर्ने र प्रत्येक पटक ५ सय रुपैयाँ जरिवानासमेत गर्ने महानगरपालिकाको चेतावनी छ । आजदेखि घर, कार्यालय, पसल, रेष्टुरेन्ट र कलकारखानाबाट निस्किने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर अलग(अलग भाँडोमा राख्नुपर्ने छ । त्यसरी छुट्याइएको फोहोरलाई मात्र फोहोर संकलन गर्न आउने गाडीमा पठाउनुपर्ने नियम बनाईएका छ ।
हप्तामा दुई दिन कुहिने र दुई दिन नकुहिने फोहोर संकलन र व्यवस्थापनको काम गरिने छ । आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिनेको फोहोर संकलन र व्यवस्थापन गरिने भएको छ । काठमाडौं महानगरपालिकाले सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र त्यहाँका स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको थियो ।