काठमाडौं । कोरोना भाइरसको महामारीसँगै बन्द भएका धार्मिक तथा पर्यटकीय क्षेत्र क्रमशः खुला हुँदैछन् । सोहीक्रममा आजबाट सदर चिडियाखाना खुला भएको छ । चिडियाखाना चैत ७ देखि बन्द थियो । स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरि चिडियाखाना खोलिएको हो । चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने नियम छ । प्रवेश क्षेत्रमा स्यानिटाइजरको व्यवस्था गरिएको छ ।
भीडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश अनुमति दिइने भएको छ । चिडियाखाना भित्र प्रवेश गरेको बढीमा डेढ घण्टाभित्र बाहिर निस्कनुपर्ने बताइएको छ । चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन तथा छुन पाइने छैन । बालबालिकालाई खेलाउन नपाइने समेत नियम छ । चिडियाखाना बिहान १० देखि बेलुका ५ बजेसम्म खुल्छ ।
उता, पशुपतिनाथ दर्शनको व्यवस्थापन समेत अहिले धमाधम भइरहेको छ । १ पुसबाट पशुपतिनाथ मन्दिरमा दर्शन गर्न सकिने भएको छ । हरेक वर्ष मार्गशीर्ष कृष्ण औँसीका दिन पशुपति मूल मन्दिर परिसरमा प्रदर्शनमा राखिने बहुमूल्य सामग्रीको प्रदर्शनी भने यो वर्ष नहुने भएको छ ।
बाला चतुर्दशीको भोलिपल्ट पशुपतिको पश्चिमढोकाअघि नागमणि, एकमुखे रुद्राक्ष, गोलोचन, दाहिने शङ्खलगायतका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण सामग्री प्रदर्शनमा राख्ने परम्परा छ ।
कोरोना महामारीका कारण मन्दिर भक्तजनका लागि बन्द रहेकाले नदेखाइने निर्णय भएको हो । मन्दिर खोल्ने अघिल्लो दिन मङ्सिर ३० गते पशुपतिमा क्षमापूजा गरिने भएको छ । त्यसपछि मन्दिर सर्वसाधारणका लागि खुल्नेछ ।