काठमाडौं । नेपालमा आज अधिकांश स्थानमा बिहानैबाट घाम लागेको छ । तीन दिनसम्मको अविरल वर्षाले करीव १ सय मानिसको ज्यान लिएको मौसमले अब भने थामिने संकेत गरेको हो । गतराति देशका धेरै ठाउँको मौसम बद्ली भए पनि अब घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । अबको दुई\तीन दिन लगातार झरी पर्ने छैन । भारतको बिहार र उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको पानी पार्ने प्रणाली निष्क्रिय भएसँगै नेपालमा समेत मौसम खुलेको हो ।
अब तत्काल ठूलो वर्षाको समेत सम्भावना छैन । बिहीबार प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक, दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । ‘आजदेखि देशका धेरै ठाउँमा मौसम सफा हुने भएको हो । पानी नपरे पनि लगातारका वर्षाका कारण पहाडी भेगमा पहिरोको जाोखिम भने अझै पनि रहने भएको छ ।