चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा गरिदैछ । बन्दसत्र भने सौराहमा हुने गरि तालिका तय गरिएको छ । चितवन महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ ।
महाधिवेशनको उदघाटन मध्याह्नमा राखिएको छ । उदघाटन अघि विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी छ । ती जुलुस नारायणी नदी किनारमा पुगेर उदघाटन सभामा परिणत हुने छ । उदघाटन समारोहमा पाँच लाख मानिस उतार्ने एमालेको दावी छ ।
भिड व्यस्थापन गर्न प्रशासनले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ खण्ड र नारायणगढको मुख्य बजारक्षेत्रभित्र आज बिहान बिहान ९ बजेदेखि अत्यावश्यक सेवाका बाहेक अन्य सबै सवारी साधनहरु प्रवेशमा रोक लगाएको छ ।
उदघाटन समारोहलाई अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले सम्बोधन गर्नेछन् । उदघाटन समारोहमा सहभागी भएर एमालेलाई शुभकामना दिन कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि चितवन जाँदैछन् । विभिन्न राजनीतिक दलका नेताहरु र विदेशी पाहुनाहरुलाई पनि एमालेले महाधिवेशनमा निम्तो दिएको छ ।
शनिबारबाट सौराहको होटल सेभेन स्टारमा बन्दसत्र आयोजना हुने छ । बन्दसत्रमा २ हजार १ सय ७५ र पर्यवेक्षक १३० जना गरी कूल २ हजार ३ सय ५ जना सहभागी हुने एमालेले जनाएको छ । महाधिवेशनका लागि देशभरबाट एमालेका प्रतिनिधिहरु चितवनमा भेला भएका छन् । यिनै प्रतिनिधिहरुले एमालेको नयाँ नेतृत्व चयन गर्नेछन् ।