काठमाडौं । आजबाट हिन्दु धर्मावलम्बीको महान पर्व तिहार शुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक आजबाट प्रारम्भ भएको हो । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार बिहीबार बेलुकी यमदीपदान शुरु गरिन्छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार भने शुक्रबार परेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार तिथिको घटबढका कारण यस्तो भएको छ । उनका अनुसार सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था छ । धन्वन्तरि जयन्ती र धनतेरस पर्व समेत शुक्रबार नै मनाइने भएको छ ।
यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने र धनतेरसको दिन भाँडाकुँडा किने लक्ष्मीको बास रहने विश्वास रहेको छ । कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गरिने भएको छ ।
अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्छ । गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ३० गते आइतबार गरिने भएको छ ।
आइतबार बिहान ११ः२७ बजेसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुन्छ । भाइटिका भने मंसिर १ मा परेको छ । बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ ।