काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारबाट मेलम्चीको पानी वितरण क्षमता बढाउने भएको छ । अब दैनिक १७ करोड लिटर पानी वितरण गरिने भएको छ । मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने भएको हो । आइतबार बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा पान िपुगिसक्ने भएको हो । वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो ।
वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै वितरण हुन बाँकी क्षेत्रमा पनि वितरण सुरु गर्ने तयारी छ । वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै अब काठमाडौँ उपत्यकामा कुल २७ करोड लिटर पानी वितरण शुरु हुने छ । अहिले केयुकेएलले दस करोड लिटर पानी वितरण गर्दै आएको छ । मेलम्चीबाट आउने १७ करोड लिटर पानीमध्ये तीन करोड २० लाख लिटर पानी पाइप परीक्षणका लागि प्रयोग गरिनेछ ।