आजबाट मौसम अदलबदल शुरु, वर्षा र हिमपात हुने

सांकेतिक तस्वीर

काठमाडौं । नेपालमा आजबाट पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव शुरु भएको छ । यसले वर्षा तथा हिमपात हुने भएको छ । पश्चिमी क्षेत्रमा पानी पर्न शुरु भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमका केही ठाउँमा मङ्गलवार बिहानैदेखि पानी पर्न थालेको हो । विभिन्न स्थानमा मौसम बद्ली भएको छ । घाम लागेको छैन ।

यस्तो प्रक्रिया मंगल र बुधबार दुई दिन सम्म नै जारी रहने भएको छ । धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको र हिमाली जिल्लामा भारी हिमपातको सम्भावगना छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहीवारदेखि भने मौसम खुल्दै जाने बताइएको छ ।

पर्सि बिहानदेखि पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदै जानेछ । बादलका कारण देशभर चिसो बढेको छ । वर्षाले चिसो अझै बढाउने अनुमान छ । उच्च हिमाली भेगमा हिउँ पर्ने हुँदा सचेत हुन समेत विभागले आग्रह गरेको छ ।