काठमाडौं । आजबाट हिन्दु धर्मावलम्बीको एक उत्सव श्रीस्वस्थानी व्रत आरम्भ भएको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा शुरु भएको हो । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत गर्ने प्रचलन रहेको छ ।
आज बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गर्ने गरिन्छ । बेलुका स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा रहेको छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।
आजबाट एक महिनासम्म काठमाडौंको शालीनदीमा स्वस्थानी मेला सुरु हुन्छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथा स्वस्थानीमा रहेको छ ।
सोही धार्मिक विश्वासका साथ साँखुस्थित शालीनदीमा स्वस्थानीको मेला लाग्ने गरेको हो । यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण शालीनदी मेलामा व्रत बस्ने व्रतालुका लागि भने कडा नियम बनाइएको छ । निमोनिया नभएको प्रमाण माग्ने गरिन्छ ।
निश्चित उमेर तोकेर मापदण्ड तयार पारिएको छ । यस वर्ष बढीमा ५० जनालाई मात्र शालीनदी क्षेत्रमा व्रत बस्न अनुमति दिइएको छ । १५ जना पुरुष र ३५ जना महिलालाई मात्रै यस वर्ष शालीनदीमा व्रत बस्न मिल्ने गरी व्यवस्थापन मिलाइएको छ । व्रतालु २० देखि ५० वर्षसम्म उमेर समूहको हुनुपर्ने उमेरहद तोकिएको छ । पीसीआर वा एन्टिजिन टेस्ट अनिवार्य गरिएको छ ।