आजदेखि सबै प्रदेशबाट श्रम स्वीकृति सेवा सुरु

काठमाडौं । आजबाट सबै प्रदेशबाट श्रम स्वीकृति सेवा पाइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारबाट विराटनगर र जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु गर्ने जनाएको छ ।

काठमाडौं केन्द्रित सेवालाई विकेन्द्रित गर्दै लैजाने नीतिअनुसार विराटनगर र जनकपुरबाट श्रम स्वीकृति प्रदान गर्ने सेवा थपिएको मन्त्रालयको भनाई छ । यसअघि संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृतिलगायत सेवा पोखरा र बुटवलबाट सुरु गरिएको थियो । सर्खेत र धनगढीबाट भने पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिइँदै आएको छ ।

चार स्थानबाट संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति र दुई स्थानबाट पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान भएको हो । श्रम स्वीकृतिका लागि भौतिक रूपमा उपस्थित हुनुपर्ने छैन । सबै सेवा अनलाइन प्रणालीमार्फत नै पाउने व्यवस्था गरिएको छ ।