काठमाडौं । आज आम निर्वाचनका दिन अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट देखाएर विमानस्थलसम्म आउन पाउने भएका छन् । नेपाल आउने यात्रुले समेत टिकटकै आधारमा विमानस्थलबाट होटेल तथा घरसम्म यात्रा गर्न सक्ने छन् । अन्य यात्रुका लागि भने सबै प्रकारका यातायातका साधन चलाउन पाउने छैनन् । आज प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदान जारी छ । यस क्रममा आन्तरिक उडान समेत बन्द भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुनेछ । आइतवार तारा एअरले चार वटा चार्टर्ड उडानका लागि अनुमति लिएको छ । तारा एअरले लुक्लाबाट काठमाडौं पर्यटक ल्याउन चार्टर्ड उडान गर्दैछ । हेलिकप्टरमा पनि केही उद्धार उडान हुँदैछन् । अन्तर्राष्ट्रियतर्फ भने नियमित उडान हुनेछ ।