काठमाडौं । आज विश्वभर योग दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा यो मितिमा योग दिवस मनाउनेबारे निर्णय गरेको थियो । सोही निर्णयका आधारमा सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा अन्तर्राष्ट्रिय योग दिवस घोषणाको प्रस्ताव गरेका थिए। प्रस्तावको पहिलो समर्थक तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन योगको ठूलो भूमिका रहने गरेको मानिन्छ ।
नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउने गरिन्छ । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेका कारण योगाशनमा दैवि शक्तिको समेत प्रभाव रहने मान्यता रहेको छ ।
प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुने मान्यता छ । पछिल्लो समय पश्चिममा मुलुकले योगलाई आत्मसाथ गरेसँगै यसको उदगम थलो मानिने नेपाल तथा भारतमा योगको नियमित अभ्यास प्रारम्भ भएको छ ।