काठमाडौं । आज अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइदैछ । वर्षभर काम गर्ने मजदूरले आफ्नो हकहितका कुरा निकालेर यो दिवस मनाउने गरिएको हो । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विगतमा ठूल्ठूला सभा सम्मेलन गरी दिवस मनाउने गर्थे । यस पटक कोरोना महामारीले दिवसको औपचारिक कार्यक्रम आयोजना हुने छैनन् ।
सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाउन थालिएको हो । १७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए ।
सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।
नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो । तर २०६४ सालदेखि अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन सरकारले आधिकारिक रुपमा सार्वजनिक विदा दिन थालेको थियो । यो पटक मजदुर वास्तवमै समस्यामा छन् । गरिखाने मानिसहरुको रोजिरोटी खोसिएको छ । महामारी रोक्न अपनाइएका कदमले मजदुरको समस्या भएपनि राज्य उदासिन देखिएको छ ।