आज एमालेका दुबै समुहको महत्वपूर्ण बैठक बस्दै

काठमाडौं । नेकपा एमाले भित्र गूट वा फूटको अन्तिम लडाई जारी छ । माधव नेपाल पक्षका नेताहरुमध्ये केहीले ओलीसँग पुनः वार्ता अगाडी बढाएपछि उत्पन्न परिस्थितिका बीच आज दुबै समुहको महत्वपूर्ण बैठक बस्दैछ । ओली पक्ष र नेपाल पक्षका छुट्टाछुट्टै बैठक बस्ने भएका हुन् । ओली समुहले स्थायी कमिटी बैठक बोलाएको छ ।

खनाल, नेपाल समूहले केन्द्रीय कमिटी बैठक समेत आजै बस्नेछ । मंगलवार बसेको स्थायी कमिटी बैठकले अन्तिम अवस्थासम्म पार्टी एकता जोगाउन प्रयास जारी राख्ने निर्णय गर्दै बुधबारका लागि अर्को बैठक बोलाएको थियो । तर, बुधबार नेताहरुबीच अनौपचारिक बैठक जारी रहेका कारण स्थायी कमिटि बैठक आजका लागि सारेको हो ।

उता, नेकपा एमालेको खनाल, नेपाल समूहले बिहान ११ बजेका लागि आफू पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएको छ । यो समुहले ओलीसँग सँगै रहने वा छु्ट्टिने विषयमा आज सदस्यहरुसँग राय परामर्श लिँदैछ । २०७५ सालको जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काएमा मात्र ओलीसँग सहमति हुने सक्ने निष्कर्षमा नेपाल समूह रहेको छ । ओली समुह भने पछाडी फर्कन तयार छैन । बरु त्यसको मूल्यमा पार्टी विभाजनका लागि नेताहरु तयार रहेका छन् ।