काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक बस्दैछ । बालकुमारीस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको हलमा बिहान ११ बजे बोलाइएको बैठकमा माधव कुमार नेपाल पक्षका नेतालाई समेत निम्ता छ । तर, उनीहरु जाने नजाने निश्चित छैन । एमाले नेताहरुका अनुसार उनीहरु आए पनि वा नआएपछि आजको बैठक भने बस्नेछ ।
आजको बैठकमा प्रतिनिधि सभा विघटन र सर्वोच्च अदालतको फैसलाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने भएको छ । सोहीकारण समेत माधव नेपाल पक्ष सहभागी हुने सम्भावना कम छ । किनकी ओली पक्षले यो फैसलालाई बाध्यकारी रुपमा मात्र मान्दै गलत भनेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ८ जेठमा दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटनलाई रद्द गरि अदालतले ब्यूताइदिएको छ । साथै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश गरेको छ । आजको बैठकमा पार्टीको विवाद समाधान कार्यदलले तयार गरेको सहमतिको प्रस्तावलाई कार्यान्वयनमा लैजाने बारे समेत छलफल हुनेछ । स्थायी कमिटी बैठकपछि दिउँसो ३ बजे एमाले संसदीय दलको बैठक बोलाइएको छ ।