काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय समिति बैठक आज बस्दैछ । पार्टीको १४ औं महाधिवेशन र आगामी कार्यक्रमबारे छलफल गर्न केन्द्रीय समिति बैठक बस्न लागेको पार्टीले जनाएको छ । दिउँसो दुई बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आगामी १४ औं महाधिवेशनको कार्यतालिका, संसद विघटनविरुद्धको आन्दोलनको समीक्षा र आगामी योजनाबारे छलफल हुने भएको हो ।
१३ औं महाधिवेशनबाट निर्वाचित कांग्रेसको वर्तमान कार्यसमितिको कार्यकाल २०७६ साल फागुनमा सकिएको थियो । विधान अनुसार एक वर्ष कार्यकाल थपिएको थियो । थपिएको कार्यकाल समेत २० फागुनमा सकिँदैछ । त्यसपछि कांग्रेसले संवैधानिक सुविधा प्रयोग गरी ६ महिना अवधि लम्ब्याउन सक्ने प्रावधान रहेको छ ।
आजको बैठकबाट सभापति शेरबहादुर देउवाले भदौमा महाधिवेशनको प्रस्ताव गर्ने सम्भावना रहेको छ । कांग्रेस पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न भने असफल भएको छ । अर्कोतर्फ संसद विघटनको विरोधमा कांग्रेसले समेत शक्ति प्रदर्शनको तयारी गरेको छ । यसअघि स्थानीय स्तरमा मात्र सिमित सभा अब केन्द्रिय स्तरमा समेत आयोजना हुने गरी तयारी गरिने भएको छ ।