काठमाडौं । नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी जनप्रदर्शन गर्दैछ । जनजिविकाका सवालमा सरकार उदासिन भएको भन्दै कांग्रेसले सरकारलाई दवाव दिन प्रदर्शन गर्न लागेको हो । कोरोना भाइरसको नियन्त्रणमा असफल भएको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, संसदलाई पार्टी विवादको बन्धक बनाएकोजस्ता विषयलाई कांग्रेसले प्राथमिकताका साथ उठाइरहेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारलाई सडकदेखि संसदसम्म तीव्र दबाब दिने रणनीति बनाएको बताएका छन् । प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आए पनि वर्तमान सरकारले त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको कारण प्रदर्शनमा जानु परेको उनको भनाई छ ।
भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेको समेत उनले उल्लेख गरेका छन् । उनले देशभर हुने प्रदर्शनमा भाग लिन समेत अपिल गरेका छन् । कांगेसले आफ्ना केन्द्रय सदस्यहरुलाई जिल्ला जिल्ला पठाएको छ ।
प्रदर्शन ११ बजेबाट शुरु गर्ने तयारी छ । सभालाई कांग्रेस नेताहरुले सम्बोधन गर्नेछन् । आजको प्रदर्शनबाट शक्ति हासिल गर्दै आगामी संसदमा नेपाली कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुने देउवाको दावि छ । उनले प्रदर्शनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन, भौतिक दुरी राख्न तथा मास्क प्रयोग गर्न अपील गरेका छन् ।