आज कांग्रेस पदाधिकारी बैठक बस्दै, नयाँ परिस्थितिबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीको बैठक आज बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाएको हो । बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बस्ने भएको छ । बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुनेछन् ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड,माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनको तयारी शुरु भएको छ ।

यसमा कांग्रेसको भूमिका प्रमुख हुन्छ । यसअघि बुधबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्ताव गरिसकेका छन् । देउवाले भने पार्टीमा छलफल गरेर मात्र जवाफ दिने बताएका छन् । सोही अनुसार देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीलाई डाकेका हुन् ।