काठमाडौं । आज तराईबासी नेपालीको ठूलो चाड छठको मूख्य दिन हो । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको यस दिन साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिने प्रचलन रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि प्रारम्भ भएको हो ।
आज अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सकिन्छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् ।
त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको मान्यता छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।
यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने प्रचलन छ ।