काठमाडौं । आज काठमाडौंको २२ तले धरहराको उद्घाटन हुँदैछ । १२ वैशाख २०७२ को भूकम्पले भत्काएपछि पुराना धरहराको आडैमा नयाँ धरहरा बनाइएको छ । यसको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्न लागेका छन् । उदघाटन हतारमा गरिएकोछ ।
किनकी धरहराको टावरबाहेक अन्य काम सकिएका छैनन् । सोहीकारण सर्वसाधारणले तत्काल धरहरा जाने, अवलोकन गर्ने तथा चढ्ने मौका भने पाउने छैन । यसका लागि अर्को एक वर्ष कम्तिमा कुर्नु पर्नेछ । धरहरा कुल २२ तले भए पनि बाहिरबाट हेर्दा ११ तले देखिन्छ ।
पुनर्निर्मित धरहरामा सुनको जलपसहितको गजुर राखिएको छ । २२ औं तलामा शिवलिंग राखिएको छ । यहाँ दुईवटा लिफ्ट राखिएको छ । यसबाहेक अब पूर्ण धरहरा क्षेत्रमा पार्किङ, बगैंचासहितका संरचना बन्दैछन् ।
वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले यो परियोजनामा काम गरिरहेको छ । भूकम्पले भत्काएको पुराना धरहराको भग्नावशेष समेत यहाँ हेर्न सकिन्छ ।