काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेकपाका नेता योगेश भट्टराईले बुधबार बिहानै फेसबुकमा लेखे, सर्वाधिक कठिन समय । उनी कोरोनाबाट मुक्त भएका छन, अन्य समस्या छैन, मतलव त्यो कठिन समय हो पार्टी भित्रको विवाद ।
आज सत्तारुढ नेकपाको सचिवालय बैठक बस्ने भनिएको छ । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठक जसरी पनि सार्ने पक्षमा छन् । सोहीकारण उनले अनेक भेटघाट र उपाय लगाइरहेका छन् ।
उता, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जसरी पनि बैठक राख्ने पक्षमा छन् । उनलाई सचिवालयका अन्य चार सदस्यको साथ छ । अर्थातः बहुमत प्रचण्डसँग छ । उनीहरु आज ओली बैठकमा सहभागी नभएपनि वालुवाटारमै सचिवालय बैठक राख्ने र निर्णय लिने तयारीमा छन् । कतै यो बैठक नै पार्टी फुटको आधार बन्ने त होइन ?
यो डर यतिबेला नेता र कार्यक्रतामा व्याप्त छ । प्रधानमन्त्री ओलीले विगत साउनयता नै कुनै न कुनै रुपबाट पार्टीका बैठक टारिरहेका छन् । उनी सामुहिक छलफलमा बस्न डराइरहेका छन् । तर, अन्य नेताहरु भने पार्टी भित्रको समस्या पार्टी बैठकबाटै सल्टाउनु पर्ने अडानमा छन् ।
यो अवस्थामा आज प्रचण्डले सचिवालय बैठक संचालनमा गरेमा यो पार्टी विवादको निर्णायक दिन बन्ने सक्ने आंशका छ । यसअघि मंगलबार ओलीले आफ्नो प्रियपात्र महासचिव विष्णु पौडेलमार्फत आजको बैठक सार्न प्रचण्डसँग प्रस्ताव गरेका थिए ।
प्रस्तावलाई प्रचण्डले अस्वीकार गरिदिएका छन् । प्रचण्डले आफूमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेको भन्दै ओली र उनी पक्षधर नेता भने उक्त प्रस्ताव फिर्ता हुने पर्ने अडानमा छन् । तर प्रचण्ड र उनी पक्षका नेता भने अब प्रस्ताव फिर्ता नहुने र बैठकमै छलफल गर्नुपर्ने अडानमा छन् ।
यसअघि शुक्रबार सचिवालय बैठक बसेको थियो । जहा प्रचण्डले आफु निकटका पाँच नेताको सहयोगमा बनाएको लिखित अनुरोधपत्र, ओली र प्रचण्डको पत्र तथा प्रचण्डको राजनीतिक प्रतिवेदन गरी आज बैठक बस्ने गरी मिति तय गरेको थियो ।
प्रचण्डले राजनीतिक प्रतिवेदनमा सरकारका विभिन्न विवादित निर्णयमाथि प्रश्न उठाएका छन् । सरकारले बजेटअघि राजस्वको दररेटसम्बन्धी सूचना चुहाएर अनियमितता गरेको, न्यायपालिकाका प्रमुखलाई राजनीतिक रूपमा प्रयोग गर्ने प्रयास गरेको, विमति राख्ने नेतालाई प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गरेको, भ्रष्टाचारका अनेक प्रकरण भए पनि अख्तियार प्राप्त निकायबाट छानबिनसमेत नगराइ प्रधानमन्त्रीबाटै निर्दोष घोषणा भएको, एमसीसीबारे प्रतिवेदनमा छलफल नगरि बजेटमा समावेश गरिएको, समकक्षी नेतालाई कहिले प्रलोभन, कहिले धम्की दिने गरेको र चरम व्यक्तिवादी प्रवृत्ति हावी भएको जस्ता आरोप प्रचण्डले ओलीमाथि लगाएका छन् ।