आज नेपाली सेना दिवस, टुडिखेलमा विशेष कार्यक्रम

File Photo

काठमाडौं । आज नेपाली सेनाले सेना दिवस मनाउँदैछ । यस अवसरमा काठमाडौंको टुडिखेलमा विशेष कार्यक्रम आयोजना हुँदैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्ति सहभागी हुने भएका छन् । नेपाली सेनाको परमाधिपति राष्ट्राध्यक्ष हुने प्रचलन रहेको छ ।

कार्यक्रममा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पण गर्ने कार्यक्रम छ । ‘फ्रि–फल जम्प’मा प्रथम र द्वितीय हुनेलाई पुरस्कार समेत राष्ट्रपतिको हातबाट गरिने छ ।

सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाइने सेनाले जनाएको छ ।

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।

समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपाष्ट, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस–२०७७ लेखिएको ब्यानर प्रदर्शनी साथै पुष्पवृष्टि गर्ने तयारी सेनाले गरेको छ ।