काठमाडौं । युएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालले आज दोस्रो खेलमा घरेलु टोली युएईको सामना गर्दैछ । श्रृंखलामा नेपाल र युएई दुवैले यसअघि पपुवा न्यु गिनी (पीएनजी)लाई हराएर उच्च मनोवलमा छन् । दुबै टीम जितका लागि मैदान उत्रिने छन् । युएईले पहिलो खेलमा पीएनजीविरुद्ध ७ विकेटको जित निकालेको थियो ।
नेपालले भने पीएनजीलाई २ विकेटले हराएको हो । करिब एक महिनाअघि ओमानमा युएईसँग महत्वपूर्ण खेलमा पराजित भएपछि नेपाल टी–२० विश्वकप छनोट हुन असफल भएको थियो । यसको बदला लिने मौका नेपालसँग रहेको छ । लिग टु मा युएई १५ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा छ । ९ खेल खेलेको नेपाल १० अंक जोड्दै छैटौं स्थानमा छ ।