काठमाडौं । आज नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुँदैछ । केन्द्रीय अध्यक्षसहितका पदाधिकारी छान्न हुन लागेको यो निर्वाचनमा पहिलो पटक देशभरका पत्रकारले प्रत्यक्ष मतदान गर्न लागेका हुन् ।
यसअघि पार्सद चुनिएर उनीहरुमार्फत नेतृत्व छान्ने प्रचलन थियो । तर, विधान परिवर्तन गरी यस पटकबाट सबै पत्रकारले आफ्नो मन परेको उमेदवारलाई गोप्य मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
देशभर रहेका १३ हजार भन्दा बढी पत्रकारले केन्द्रिय नेतृत्व चयन गर्न भोट हाल्ने छन् । निर्वाचन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा हुने भएको छ । महासंघको अध्यक्षका लागि गजेन्द्र बुढाथोकी, निर्मला शर्मा र विपुल पोखरेल उठेका छन् । शर्मा र पोखरेलको प्यानल छ ।
बुढाथोकी स्वतन्त्र रुपमा उठेका छन् । शर्मालाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ओली निकट पत्रकारको साथ रहेको छ । नेपाली कांग्रेस, एमाले (नेपाल) र माओवादी केन्द्र निकट पत्रकारको साथ भने पोखरेलले पाएका छन् । आजै केन्द्रबाहेक प्रदेश र जिल्ला, एसोसियट र प्रतिष्ठानतर्फको नयाँ नेतृत्वको लागि समेत मतदान हुने छ ।