काठमाडौं । प्रिमनसुन सक्रिय भएसँगै नेपालमा चट्याङ्ग र असिनासहित पानी पर्न थालेको छ । शनिबार र आइतबार समेत देशका विभिन्न स्थानमा यस्तै मौसमको सामना गर्नु पर्ने भएको छ । पहाडी केही ठाउँ र तराईका थोरै ठाउँमा हावाहुरी, मेघगर्जन, चट्याङ्ग र असिनासहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
अहिले पूर्व, कर्णाली तथा सुदूरपश्चिममा मौसम सामान्य बद्ली भएको छ । गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रमा पनि मौसम आंशिक बद्ली भएको छ । आजदेखि पश्चिमी वायु पनि भित्रिएको छ । स्थानीय र पश्चिमी गरी दुई वटा प्रणाली सक्रिय रहेकाले मौसम बद्लीसँगै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।
पश्चिमी वायु मनसुन सुरु नहुँदासम्म बेलाबेला देखिने गरेको तर यसको असर कमजोर रहने भएको हो । आज र भोलि पहाडी केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित असिना पानीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । हिजो काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा चट्याङ्ग, हावाहुरीसहित असिना पानी परेको थियो ।