काठमाडौं । पटक पटक स्थगित भइरहेको नेपाली कांग्रेस कार्यसमिति बैठक आज पनि स्थगित भएको छ । केही नेतामा कोरोना भाइरसको संक्रमण भएको र केही आइसोलेसनमा बस्नु परेको भन्दै नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक सारेको हो । अब अर्को बैठक कात्तिक २७ गते बोलाइएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक सरेको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई डाकिएको छ । यो बैठक कांग्रेसले गत असोजमै डाकेको हो । तर, बाहनाबाजी निकाल्दै बैठक स्थगित भइरहेको छ ।
असोज १२ मा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका २७ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै १६ बुँदे विरोध पत्र दर्ता गरेका छन् । सोही पत्रबारे पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी रहेर पटकपटक छलफल गरेको कांग्रेसले अब कात्तिक २७ मा हुने बैठकमा सहमतिका लागि प्रस्ताव पेश गर्ने तयारी गरेको बताइएको छ ।
आइतबार सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले विभाग यथावत् राख्दै क्रियशील सदस्यता तथा समायोजन लगायतका एजेन्डामा सहमतिको प्रस्ताव अब बस्ने केन्द्रीय समितिमा पेश गर्ने सहमति गरेको छ।