काठमाडौ । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडी सोमबार पनि रोकिएका छन् । स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले गाडी बीच बाटोमै रोकिदिएका हुन् । सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि उनीहरुलाई साथ दिएको स्थानीयले जनाएका छन् ।
हिजो धादिङको धुनिबेशी नगरपालिका-१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए । आज दिउँसो सबै दलले संयुक्त वक्तव्य निकाल्ने तयारी गरेका छन् । राजनीतिक दलहरुको अवरोधका कारण आज बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले फोहोर खसाल्न पाएका छैनन् । हिजो गएका २५ वडा गाडीले मात्र फोहोर खसालेका थिए ।