आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

काठमाडौं । नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा आजबाट सञ्चालनमा आउँदैछ । यद्दपी पहिलो चरणमा यहाँ आन्तरिक उडानमात्र हुने भएको छ । आइतबार बिहान ११ बजे प्रधानमन्त्री पुष्प कमल दाहालले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पोखरा महानगरपालिकाले आज आइतबारका लागि पोखरामा सार्वजनिक बिदा समेत दिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो । अब पोखराबाट हुने सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट हुँदैछन् । यसले पोखराको उडानलाई अझ सुरक्षित बनाउने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाई छ । अंग्रेजी नयाँ वर्षको अवसर पारी यो विमानस्थलको उद्घाटन गर्ने भनी मिति यसअघि नै तय गरिएको थियो ।