काठमाडौं । आज संसारभर मुस्लिम धर्मावलम्बीले दोस्रो महान चाड बकर इद (इदुल जोहा) मनाउँदैछन् । यो पर्वको उपलक्ष्यमा नेपाल सरकारले समेत आज सार्वजनिक बिदा घोषणा गरेको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने प्रचलन अनुसार आज मुस्लिम समुदायमा यो चाड मनाइँदैछ । यो दिन मुस्लिम धर्मावलम्बीले स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने प्रचलन रहेको छ ।
नमाज पढेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गर्ने गरिन्छ । नेपालमा दरबारमार्गको नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदसहितका मस्जिदमा बढी भिड लाग्छ । यो वर्ष भने मस्जिदमा नगई घरमै चाड मनाउन आह्वान गरिएको छ । मुस्लिम आयोगले समेत घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेकोछ हो । यस पर्वका अवसरमा मक्का मदिनामा संसारभरबाट लाखौं धर्मावलम्बी पुग्ने गर्छन् ।