काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९\८० को बजेट आज संसदमा प्रस्तुत गर्दैछ । आगामी आवमा प्रदेश र संघीय संसदको निर्वाचन गर्नुपर्ने भएकोले सरकारले यस बजेटमा लोकप्रिय कार्यक्रमलाई प्राथमिकता दिँदैछ । खासगरी कृषि र उद्योग क्षेत्रमा अधिकतम सहुलीयतपूर्ण कार्यक्रमहरु राखिने भएको छ । केही कार्यक्रमले सिधै कृषकसम्म अनुदान जाने छ । केही कार्यक्रम भने विजुलीमा सहुलियतदेखि छूटसम्मका हुनेछन् ।
उद्योगमा समेत निर्यातमुलक उद्योगमा सरकारले उदार हुने संकेत गरेको छ । निजामती कर्मचारीको तलववृद्धि एउटा एजेण्डा रहेको छ । आयकरको सीमा केही बढाउने तयारी छ । विद्युतीय सवारीसाधनको प्रवद्र्धनमा बजेटले जोड दिने भएको छ । वृद्धभत्ताको उमेर समेत केही घटाउने तयारी रहेको छ । बन्द भएका सार्वजनिक संस्थान ब्यूताउने बताएको सरकारले रोजगारीका कार्यक्रमलाई समेत प्राथमिकता दिने बताएको छ । बजेट साँझ ४ बजे बस्ने संसदका दुबै सदनको संयुक्र बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ४ बजे पढ्न थाल्ने छन् ।