आज भानु जयन्ती, देश-विदेशमा विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती आज शुक्रवार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । काठमाडौं, तनहुँसहित दार्जिलिङ, सिक्किमलगायत नेपालीभाषी रहेका धेरै क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका आचार्यले ‘अध्यात्मरामायण’ को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बीजारोपण गरेका थिए । उनका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’, ‘रामगीता’ लगायत दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् ।

नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यिमा चिनिएका हुन् । भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । भानुजयन्तीका अवसरमा आज गण्डकी प्रदेशले सार्वजनिक बिदा दिएको छ ।