नयाँ दिल्ली । भारतमा कृषि विधेयकविरुद्ध किसानको आन्दोलन देशव्यापी बनेको छ । त्यसक्रममा कृषकहरुले आज भारत बन्दको आयोजना गरेका छन् । प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसहित कैयौं संगठनको स्वतस्फुर्त साथ पाएका किसानहरुले उठाएको विशाल आन्दोलनका कारण मोदी सरकार भने संकटमा पर्दै गएको छ ।
यसले आसन्न निर्वाचनहरु भारतीय जनता पार्टी (भाजपा)का लागि कठिन हुने संकेत गरेको छ । सरकारले आफ्ना मागमा बेवास्ता गरेको आरोप लगाउँदै किसानहरुले आज उनीहरूले देशव्यापी बन्द आह्वान गरेका हुन्। किसानको या बन्दको कार्यक्रमलाई भारतमा २४ वटा विपक्षी दलले समर्थन गरेका छन् ।
किसान युनियन (क्रान्तिकारी) का अध्यक्ष दर्शनपाल सिंहले भने किसानको आन्दोलनलाई राजनीतिक रोटी सेकाउने माध्यम नबनाउन चेतावती समेत दिएका छन् । उनले समर्थन गर्ने सबै राजनीतिक दलहरूलाई धन्यवाद दिँदै भारत बन्दका बेला आफ्ना झण्डा र ब्यानरलाई घरमै छाडेर आउन र किसानलाई मात्रै समर्थन गर्न आग्रह गरेका छन्।
किसानहरुको स्वतस्फूर्त आन्दोलनमा कृषिसम्बन्धी कानुनहरु रद्ध गर्नुपर्ने माग रहेको छ । सरकारले ल्याएको कानुन लागु भएमा किसान थप मर्कामा पर्ने, कृषिजन्य उत्पादनले पर्याप्त मुल्य नपाउने उनीहरुको चिन्ता छ । प्रदेश सरकारहरुले किसानका माग सम्बोधन गर्न नसकेपछि अब यो मुद्दा भारतको राष्ट्रिय मुद्दा बनिसकेको छ ।