काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदैछन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली नयाँदिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठक तीन दिनसम्म चल्ने कार्यक्रम रहेको छ ।
परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा अध्यक्षता गर्ने आयोगको बैठकमा नेपाल–भारतसँग सम्बन्धित बहुआयामिक विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुनेछ ।
भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्ता समेत गर्ने बताइएको छ । मन्त्रीसँगै परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायत सरकारी अधिकारी पनि जानेछन् । उनी ज्ञवाली शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।
नेपाल भारत संवाद नभएको समयमा हुन लागेको यो भ्रमणलाई महत्वपूर्ण रुपमा हेरिएको छ । सम्भवतः यो भ्रमणबाटै नेपाल र भारतबीच कोरोना खोप खरीद सम्बन्धमा समेत सम्झौताको रुपरेखा बन्ने छ ।